वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
सारांश
- सञ्जय चौधरी, रत्ननगर, वैशाख ३ ।
- पर्यटकीय नगरी सौराहा नजिक रहेको जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा बुधवार चरा अबलोकन गरिएको छ ।
- चितवनमा जारी ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत चराको अवस्था पत्ता लगाउन र सामुदायिक वनको पहिचानको लागि चरा अबलोकन गरिएको हो ।
सञ्जय चौधरी, रत्ननगर, वैशाख ३ । पर्यटकीय नगरी सौराहा नजिक रहेको जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा बुधवार चरा अबलोकन गरिएको छ ।
चितवनमा जारी ३०औं वन्यजन्तु सप्ताह अन्तर्गत चराको अवस्था पत्ता लगाउन र सामुदायिक वनको पहिचानको लागि चरा अबलोकन गरिएको हो ।
जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज उपभोक्ता समिति, वर्ड एजुकेशन सोसाइटी चितवन सौराहा र नेचर गाइड एशोसियसन सौराहाको सहकार्यमा चरा अबलोकन गरिएको छ ।
चरा संरक्षणकर्मी र नेचर गाइडहरुले सो सामुदायिक वनमा उपकरणको प्रयोग गरी चराको अबस्था हेर्नुका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातीको बारेका जानकारी समेत गराएका थिए ।
सो सामुदायिक वन चराको बासस्थानको हिसाबले अब्बल मानिदै आएको छ । चितवनमा रहेका ६५५ प्रजाती मध्ये ५० प्रतिशत प्रजाती सो सामुदायिक वनमा रहेको वरिष्ठ पंक्षीबिद टिका गिरीले जानकारी दिए ।
चरा लगायत दुर्लभ वन्यजन्तुको राम्रो बासस्थान हुँदाहुँदै पनि सो सामुदायिक वनलाई सौराहाको पर्यटनसंग जोड्न सकिएको छैन् ।
सौराहाको निकटका रहेका अन्य बाघमारा, चित्रसेन, कुमरोज सामुदायिक वनले पर्यापर्यटनबाटै बार्षिक दूई करोड रुपैँया आम्दानी गर्दै आएका छन् ।
ओझेलमा रहेको जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासको लागि दवाव र्सिजना गर्न वन्यजन्तु सप्ताहको अबसरमा पारेर चरा अबलोकन कार्यक्रम राखिएको पंक्षीबिद गिरीको भनाईछ ।

चरा अबलोकन सुरु हुनुपूर्व जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सह सचिव फडिन्द्र चौधरीले सो कार्यको उद्घाटन गरेका थिए ।
सो अबसरमा बोल्दै उनले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएको बताए । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आर्कषित गर्ने गतिविधि आवश्यक रहेको उनको भनाई छ ।
उनले जनकौली वनमा पर्यटकलाई डुंगा सयर गराईरहेको बताए । अन्य देशहरुबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेको उनको भनाई छ ।
मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले वन्यजन्तु सप्ताह प्रति सौराहाका व्यवासयी उदासीन रहेको बताए ।
“वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका व्यवसायीहरु नै सप्ताहमा उपस्थित भएनन्” उनले भने, “संरक्षणकर्मीले जोगाइदिएर व्यवसाय चल्ने भनेर सोच्ने मुर्खता मात्र हो ।”

बैशाख ४ गते बुढीराप्ती खोला सरसफाई र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।
यसैगरी, सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधवारै “बुझौं बन्यजन्तुको आनीबानी, घटाऔं मानवसंगको द्वन्द र हानीनोक्सानी” विषयक अन्तरक्रिया कार्यक्रम गरिएकोछ ।
रत्ननगर नगरपालिका १, ४, ५, ६, ७, ८, ९ वडा कार्यालय र मृगकुञ्ज उपभोक्ता समितिको आयोजनामा नगर सभाहल, सौराहामा अन्तरक्रिया गरिएको हो ।

रत्ननगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सजना महतोको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा रत्ननगर वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा रत्ननगर वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा, ६ का वडा अध्यक्ष किरण महतो, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, संरक्षण अधिकृत एंव चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख सन्त वहादुर मगर, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, ६ का वडा सदस्य बिरेन्द्र चौधरी लगाएतले मन्तव्य राखेका थिए ।
मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।




प्रतिक्रिया