कांग्रेसको केन्द्रीय सदस्यमा सौगात थापाको उम्मेदवारी
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा व्यवसायी सौगात थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
- कांग्रेसको १५ औं महाधिवेशनमा ३५ वर्षमुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
- थापा कास्की २ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा व्यवसायी सौगात थापाले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशनमा ३५ वर्षमुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
थापा कास्की २ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् । उनी ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा थापा निर्वाचित भएका थिए ।
नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने थापाले बताए । ‘यस पटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदैछ, यो हाम्रा लागि खुसीको कुरा हो,’ थापाले भने, ‘महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात् गरेर विचार, संगठन र कार्यक्रममा प्रस्ट नीति बनाउनुपर्छ। प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि हुनुपर्छ। यसले पार्टीलाई गतिशील बनाउँछ।’
जेन–जी आन्दोलनपछि पार्टीले युवालाई थप ‘स्पेस’ दिने गरी लिएको नीतिगत सुधारको प्रभाव पार्टीका अधिवेशनहरूमा देखिएको उनले बताए । ‘महाधिवेशनले त्यो युवा समूह अनि लामो आन्दोलन र विरासत धानेर आएको पुस्ताबीच तालमेल गरेर अघि बढ्न सक्ने कार्यक्रम र योजना ल्याउनुपर्छ,’ उनले भने, ‘जेन–जी आन्दोलनले युवामा राजनीतिप्रति प्रत्यक्ष चासो बढाएको छ । त्यसैले पार्टीभित्र यसलाई बैचारिक रूपमा जोड्नुपर्छ ।‘
राजनीतिमा नलागेका विभिन्न पेसा, व्यवसायमा दक्षता प्राप्त व्यक्तिहरूलाई समेत राजनीतिमा ल्याउन नेतृत्वले पहल गर्नुपर्ने थापाको भनाइ छ । ‘वडादेखि केन्द्रीय तहसम्मै गरेको सुनिश्चितताले राम्रो सन्देश दिएको छ,’ उनले भने,’यो व्यवस्था स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको बेला पनि गरिनुपर्छ।‘
थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचितसमेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् । थापा पोखरा महानगरपालिकाको नेवीसंघको सभापति भइसकेका छन् । उनी क्षेत्रीय प्रतिनिधि २ पटक भइसकेका छन् ।




प्रतिक्रिया