कास्की–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किरण केसीको उम्मेदवारी
सारांश
- पोखरा ।
- युवा उद्यमी तथा शिक्षासेवी किरण केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं.
- २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएका छन्।
पोखरा । युवा उद्यमी तथा शिक्षासेवी किरण केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएका छन्। व्यवसाय, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय केसीले आफूले प्राप्त गरेको अनुभव र ज्ञानलाई पार्टी संगठनको सुदृढीकरणसँग जोड्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।
केसी हाल कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षका रूपमा कार्यरत छन्। शैक्षिक संस्थाको नेतृत्व गर्दै आएका उनले गुणस्तरीय शिक्षाको विकास, संस्थागत क्षमता अभिवृद्धि तथा शिक्षा र व्यावसायिक क्षेत्रबीच सहकार्य विस्तारलाई प्राथमिकतामा राख्दै आएका छन्।
युवालाई शिक्षापछि रोजगारी खोज्ने अवस्थामा मात्र सीमित नराखी आफ्नै सीप, क्षमता र लगानीमार्फत रोजगारी तथा अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा केसीले जोड दिँदै आएका छन्। यही सोचअनुरूप उनी विभिन्न उद्यमशील गतिविधिमा समेत संलग्न हुँदै आएका छन्।
केसी जलविद्युत्, आवास तथा अपार्टमेन्टलगायत विभिन्न व्यावसायिक क्षेत्रमा आबद्ध छन्। उनले निजी क्षेत्रको लगानीलाई आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने धारणा राख्दै आएका छन्। व्यवसायसँगै शिक्षा र सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएकाले उनको सार्वजनिक संलग्नता विभिन्न क्षेत्रमा फैलिएको छ।
केसीको पारिवारिक पृष्ठभूमि पनि पोखराको उद्योग, शिक्षा तथा सामाजिक सेवासँग जोडिएको छ। उनी स्वर्गीय उद्योगी तथा समाजसेवी सूर्यबहादुर केसीका छोरा हुन्। सूर्यबहादुर केसी कालिका बहुमुखी क्याम्पसका संस्थापक अध्यक्षसमेत थिए।
केसी परिवारले सूर्य–प्रेम ट्रस्टमार्फत शिक्षा, सामाजिक सेवा तथा विभिन्न जनहितका क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आएको छ। पारिवारिक विरासतसँगै आफ्नै व्यावसायिक तथा शैक्षिक अनुभवलाई समेत उपयोग गर्दै पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएको केसीले बताएका छन्।




प्रतिक्रिया