नेकपा कास्किका ३ वटै उमेदवारले बढाए चुनाबी सक्रीयता
सारांश
- नेपाली कम्युनिस्ट पार्टी कास्किका ३ वटै क्षेत्रका उमेदवारहरुले चुनाबी सक्रीयता बढाएका छन ।
- हरेक दिन सम्पर्क कार्यालयहरु उद्घाटन र स्थानिय मतदाता तथा कार्यकर्ता भेट्घाटमा उमेदवारहरुको ब्यस्तता बढेर गएको नेकपा कास्किका उमेदवारहरुले बताएका छन ।
- पोखरा–२२, पुम्दीभुम्दीमा मत माग्न पुगेका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउने अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिस्ट पार्टी कास्किका ३ वटै क्षेत्रका उमेदवारहरुले चुनाबी सक्रीयता बढाएका छन । हरेक दिन सम्पर्क कार्यालयहरु उद्घाटन र स्थानिय मतदाता तथा कार्यकर्ता भेट्घाटमा उमेदवारहरुको ब्यस्तता बढेर गएको नेकपा कास्किका उमेदवारहरुले बताएका छन । पोखरा–२२, पुम्दीभुम्दीमा मत माग्न पुगेका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउने अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए ।
कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरीसँग उनीहरुले पुराना दलहरुको मनोमानी र जोरजबर्जस्तीले जेनजी आन्दोलन भएको जनाउँदै अबको यात्राको नेतृत्व गर्नसक्नेलाई छान्ने बताएका थिए ।
उम्मेदवार गिरीले देशमा बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘सुशासन र विकासको माध्यमबाट युवालाई नेपालमै बस्ने वातावरण मिलाउँछौं ।’ मतदाताले विजयी भएपछि फेरि अर्काे चुनावमा आउने प्रवृत्ति बदल्न आग्रहसमेत गरेका थिए ।
पोखरा–२२ खाल्सेका स्थानीयले गाउँमा बाँदर आतंकले बालीनाली लगाउने अवस्था नरहेको सुनाए । उम्मेदवार गिरीले बाँदर नियन्त्रण लागि पनि आफूसँग योजना रहेको भन्दै सो योजना कार्यान्वयनका लागि पहलकदमी लिने वाचा गरे ।
कास्की क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार राजकाजी गुरुङले घरदैलो र भेटघाट जारी राखे । नेकपाले पोखरा–२६ मा सम्पर्क कार्यालय स्थापना गरेको छ भने घरदैलो र भेटघाटलाई पनि निरन्तरता दिइरहेको चुनावी कमान्डर सोमती गुरुङले जानकारी दिईन् ।
कास्की २ का उम्मेदवार किरण थापा (आमोद) पनि घरदैलो कार्यक्रममा व्यस्त छन । पोखरा–२०, भलामको ठकुरी टोल, भलाम एरिया, डाँडागाउँ, भण्डारीथर हँुदै वडा कार्यालयसम्मको क्षेत्रमा घरदैलोमा उनले स्थानीयका सुझावसमेत संकलन गरेका छन् । जनताको सुझाव अनुसार नै विकासको खाका बनाउने योजना अन्तर्गत सुझाव संकलन गरेको सो क्षेत्रका चुनावी कमान्डर खड्क हमालले जानकारी दिए ।
सो अवसरमा स्थानीयले महानगरमा भए पनि पोखरा–२० विकासको मामलामा बत्तिमुनिको अँधेरोमा परेको गुनासो गरे । मूलबाटो पिच भएको तर घर जानेबाटोचाहिं जोखिमपूर्ण रहेको भन्दै लक्ष्मी सुनारले भनिन्, ‘कतिबेला दुर्घटना हुने हो भन्ने पीर हुन्छ । हामी त पोखरामा भएर पनि विकासमा पछि परेको कर्णालीजस्तो भयौं ।”




प्रतिक्रिया