हाइकर्स क्लबको ७० औं श्रृङ्खला सम्पन्न
सारांश
- पोखरा ।
- प्रकृतिसँग नजिकिँदै स्वास्थ्य, पर्यटन प्रवद्र्धन र सामाजिक एकताको सन्देश दिने उद्देश्यका साथ हाइकर्स क्लब नेपालद्वारा आयोजित हाइकिङ भाग ७० कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
- पोखरा–कास्की क्षेत्रका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल समेटिएको उक्त पदयात्रामा क्लबका पदाधिकारी, सदस्य, पर्यटनप्रेमी तथा प्रकृतिप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
पोखरा । प्रकृतिसँग नजिकिँदै स्वास्थ्य, पर्यटन प्रवद्र्धन र सामाजिक एकताको सन्देश दिने उद्देश्यका साथ हाइकर्स क्लब नेपालद्वारा आयोजित हाइकिङ भाग ७० कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पोखरा–कास्की क्षेत्रका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल समेटिएको उक्त पदयात्रामा क्लबका पदाधिकारी, सदस्य, पर्यटनप्रेमी तथा प्रकृतिप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागीहरु शनिबार विहान पोखरा ९ दरबारथोक, न्यु्रोडमा भेला भई कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डासहित दिनभर पैदल २५ किमि हाइकिङ गर्दै प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक महत्व बोकेका क्षेत्रहरूको अवलोकन गर्दै स्वास्थ्य र पर्यटन प्रवद्र्धनको सन्देश फैलाएका थिए । कार्यक्रममा सहभागीहरू एउटै पोशाकमा देखिनुका साथै अनुशासित र उत्साहपूर्ण उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रमको क्रममा सहभागीहरूले “स्वास्थ्य र पर्यटनका लागि हाइकिङ” भन्ने मूल नारालाई आत्मसात गर्दै नियमित हिँडाइले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । पछिल्लो समय प्रविधिको अत्यधिक प्रयोग र व्यस्त जीवनशैलीका कारण मानिसहरूमा शारीरिक गतिविधि कम हुँदै गएको अवस्थामा यस्ता हाइकिङ कार्यक्रमले समाजलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो ।
पोखरालाई केवल पर्यटकीय राजधानीका रूपमा मात्र नभई प्राकृतिक हाइकिङ गन्तव्यका रूपमा पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए । उनका अनुसार पोखरामा रहेका डाँडा, वन, ताल, धार्मिक स्थल र हिमाली दृश्यहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना बोकेको छ । यस्ता पदयात्राले स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
हाइकिङ भाग ७० मा सहभागीहरूले पोखराको मुख्य वजार क्षेत्र महेन्द्र पुलस्थित सेतीनदी किनारमा रहेको अन्तराष्ट्रिय झण्डा पार्क, फल्चा, वगरको केआईसिं पुल, काली खोलाको झोलुङ्गे पुल, हरिहर गुफा, भलाम डाँडा गाउँ लगाएतका विभिन्न स्थानको अवलोकन गर्दै वातावरण संरक्षण, सरसफाइ र प्रकृतिप्रेम सम्बन्धी सन्देशसमेत प्रवाह गरेका थिए । कार्यक्रममा सहभागीहरूले प्लास्टिकजन्य फोहोर नगर्ने, पर्यावरण जोगाउने तथा पर्यटन क्षेत्र सफा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । क्लबले आगामी दिनमा पनि सरसफाइ अभियान, वृक्षारोपण, सामाजिक सेवा तथा युवालाई सकारात्मक गतिविधिमा जोड्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रममा सहभागी धेरैले हाइकिङ केवल मनोरञ्जन मात्र नभई स्वास्थ्य सुधार, मित्रता विस्तार, मानसिक शान्ति र सामाजिक सद्भाव बढाउने माध्यम भएको बताएका थिए । विशेषगरी युवापुस्तालाई कुलतबाट टाढा राख्न, प्रकृतिसँग जोड्न र सकारात्मक सोच विकास गर्न यस्ता गतिविधि प्रभावकारी हुने हाइकिङ संयोजक पितम सेनले वताए ।
हाइकर्स क्लब नेपालले विगत केही वर्षदेखि पोखरा तथा आसपासका क्षेत्रमा नियमित रूपमा हाइकिङ, पर्यटन प्रवद्र्धन, सामाजिक सेवा र वातावरण संरक्षणसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ । क्लबले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्राकृतिक सम्पदाको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले राष्ट्रिय झण्डासहित सामूहिक तस्वीर खिच्दै “स्वस्थ शरीर, स्वच्छ वातावरण र समृद्ध पर्यटन” को सन्देश दिएका थिए । सहभागीहरूले आगामी दिनमा अझ वृहत् सहभागितासहित यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।




प्रतिक्रिया