निरन्तर भ्याट र करबारे सिकाउँदै पोउवा संघ
सारांश
- पोखरा,४ फागुन ।
- ‘हामीलाई टिकटक र फेसबुक चलाउन कसैले सिकाएको हैन ।
- मार्क जुकरवर्ग आएर फेसबुक यसरी चलाउने हो भन्या पनि हैन होला ।
पोखरा,४ फागुन ।‘हामीलाई टिकटक र फेसबुक चलाउन कसैले सिकाएको हैन । मार्क जुकरवर्ग आएर फेसबुक यसरी चलाउने हो भन्या पनि हैन होला । त्यो चलाउन जान्ने तर आफूलाई चाहिने करको दाखिला गर्ने कुरा चाहिँ नजान्ने,भर्न जानेको छैन । बिल काट्न आउँदैन भन्न मिल्छ र ?’
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सोमबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मूल्य अभिवृद्धि कर (भ्याट) र करबारे आयोजना गरेको तालिम कार्यक्रममा प्रश्न तेस्र्याए । पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्की मुस्कुराए, तालिममा सहभागीहरु मुखामुख गरे ।
प्रमुख कर अधिकृत त्यत्तिमै रोकिएनन् । उनले व्याख्यासहित भने,‘नेपालको कर प्रणाली भनेको स्वघोषणा गर्नेखालको हो । हाम्रो कर प्रशासनका ८० प्रतिशत काम अनलाइनबाटै हुन्छ । तपाईं कार्यालय आउनै पर्दैन । हाम्रो वेवसाइटमा जानुभयो भने त्यहाँ सधैँ सोधिने प्रश्नहरुका उत्तर छन् । अलिकति अध्ययन गर्नासाथ आफूले तिर्नुपर्ने राजश्व आफै भर्न सकिन्छ । भ्याट चाहिँ यहाँहरुले तिर्ने हैन । उपभोक्ताले तिरेको रकम राज्यलाई बुझाउने हो । त्यो पनि एक महिनासम्म तपाईंले बिना ब्याज चलाउन पाउनुहुन्छ ।’
प्रमुख कर अधिकृत ढुंगानाले दण्ड र जरिवानाबाट बच्नका निम्ति आफै जागरुक बन्नुपर्नेमा पनि जोड दिए । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा भ्याट र करसम्बन्धी तालिम संचालन गर्दै आइरहेको छ । यो कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका उद्योगी÷व्यवसायीलाई तालिम प्रदान गरिने संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । हालसम्म ४ वटा तालिम प्रदान गरिएको र सोमबार एवं फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीसँगको समन्वयमा आयोजना २ दिने तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
सो कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले कर तिर्नु व्यवसायीको धर्म हो भन्नेमा संघ प्रष्ट रहेको र प्रणाली चाहिँ अझै सरल हुनुपर्ने धारणा सुनाए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष थानेश्वर तिवारीले कर प्रणालीबारे जानकारी प्राप्त हुँदा व्यवसाय गर्न सहजता प्राप्त हुने आशा राखे । सहभागीहरुलाई सिए विवेक श्रेष्ठले कर र भ्याटबारे सहजीकरण गरेका थिए ।




प्रतिक्रिया