singel post top banner

बाँदर आतङ्कको समाधान खोज्दै विज्ञहरू

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, जेठ ८, २०८३
|
|
८४ पटक हेरिएको
Shares
बाँदर आतङ्कको समाधान खोज्दै विज्ञहरू

सारांश

  • नर्सरीमा सिप्लीकान खेतीलाई पोखराको नयाँ सम्भावनाका रूपमा विकास गर्ने तयारी सिप्लीकान केवल एउटा वनस्पति मात्र नभई स्वास्थ्य, वातावरण, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको बहुउपयोगी प्राकृतिक सम्पत्ति भएको बताइएको छ।
  • पछिल्लो समय कृषिमा देखिएको बाँदर आतङ्क, उत्पादन लागत वृद्धि तथा परम्परागत खेतीप्रति घट्दो आकर्षणका बीच सिप्लीकान खेतीलाई वैकल्पिक तथा दीर्घकालीन समाधानका रूपमा अघि सार्न थालिएको छ ।
  • पर्यटकीय राजधानी पोखरालाई सिप्लीकान खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा–३२ तल्लोगगनगौडास्थित ऊँ कृषि फर्ममा सञ्चालित सिप्लीकान नर्सरी अहिले कृषक, अनुसन्धानकर्ता तथा कृषि विज्ञहरूको आकर्षणको केन्द्र बनेको छ ।

नर्सरीमा सिप्लीकान खेतीलाई पोखराको नयाँ सम्भावनाका रूपमा विकास गर्ने तयारी

सिप्लीकान केवल एउटा वनस्पति मात्र नभई स्वास्थ्य, वातावरण, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको बहुउपयोगी प्राकृतिक सम्पत्ति भएको बताइएको छ। पछिल्लो समय कृषिमा देखिएको बाँदर आतङ्क, उत्पादन लागत वृद्धि तथा परम्परागत खेतीप्रति घट्दो आकर्षणका बीच सिप्लीकान खेतीलाई वैकल्पिक तथा दीर्घकालीन समाधानका रूपमा अघि सार्न थालिएको छ ।पर्यटकीय राजधानी पोखरालाई सिप्लीकान खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा–३२ तल्लोगगनगौडास्थित ऊँ कृषि फर्ममा सञ्चालित सिप्लीकान नर्सरी अहिले कृषक, अनुसन्धानकर्ता तथा कृषि विज्ञहरूको आकर्षणको केन्द्र बनेको छ ।

यसै क्रममा पोखरा महानगरपालिका कृषि कार्यालय तथा कृषि महाशाखाका प्रमुख मनहर कँडरिया र व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले संयुक्त रूपमा नर्सरीको अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनीहरूले सिप्लीकान खेतीले बाँदर आतङ्कबाट पीडित कृषकलाई राहत दिन सक्ने विश्वास व्यक्त गरेका थिए ।

उहाँहरूका अनुसार सिप्लीकान खेती व्यवसायिक रूपमा विस्तार गर्न सकिए कृषकको आयआर्जन वृद्धि हुनुका साथै वातावरण संरक्षण, प्राकृतिक जडीबुटी उत्पादन र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुग्नेछ। महानगरपालिकाले निकट भविष्यमै सिप्लीकान व्यवसाय गर्न इच्छुक कृषकलाई प्रोत्साहन, तालिम तथा अवसर उपलब्ध गराउने तयारी गरिरहेको समेत जानकारी दिइएको छ ।

विज्ञहरूले सिप्लीकानलाई केवल औषधीय वनस्पति मात्र नभई नवप्रवर्तनशील व्यवसाय, दिगो पर्यटन, उद्यमशीलता विकास, व्यवसाय योजना, बजार विस्तार तथा ब्रान्डिङसँग जोडिएको बहुआयामिक सम्भावना बोकेको वनस्पतिका रूपमा व्याख्या गरेका छन् ।

विशेषगरी पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सिप्लीकानबाट उत्पादन हुने साग, अचार, गुन्द्रुक लगायतका परिकार उपलब्ध गराउन सकिने सम्भावना रहेको बताइएको छ। यसबाट पोखराको कृषि पर्यटनलाई समेत नयाँ पहिचान दिन सकिने कृषि विज्ञहरूको भनाइ छ ।

ऊँ कृषि फर्मका निर्देशक कविराज खनालले “राज्यले नचिनेको भए पनि माटो र प्रकृतिले चिनेको कृषक” भन्ने अवधारणालाई आत्मसात गर्दै बाँदर आतङ्कको समाधान, दिगो कृषि व्यवसाय तथा चार पुस्तासम्म टिक्ने कृषि उद्यम निर्माण गर्ने लक्ष्यसहित आफू लागिपरेको बताए ।

उनका अनुसार हाल नर्सरीमार्फत ४० हजारभन्दा बढी सिप्लीकानका बिरुवा उत्पादन तथा बिक्री–वितरण भइरहेको छ। कृषकहरूबाट बिरुवाप्रति उत्साहजनक चासो देखिएको उनले जानकारी दिए ।

खनालले लेखनाथ क्षेत्रलाई च्यवन ऋषिको तपोभूमिका रूपमा परिचित गराउँदै यहाँ ४८ प्रकारका जडीबुटी पाइने भएकाले यस क्षेत्रलाई प्राकृतिक जडीबुटी संरक्षण तथा अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे। उनले विगत १० वर्षदेखि निरन्तर रूपमा जडीबुटी संरक्षण, संवद्र्धन तथा सिप्लीकान खेती विस्तारमा लागिरहेको बताए ।

उनका अनुसार सिप्लीकान खेतीले वातावरणीय सन्तुलन कायम राख्नुका साथै माटो संरक्षण, हरियाली प्रवद्र्धन तथा जैविक विविधता जोगाउन समेत महत्वपूर्ण भूमिका खेल्नेछ। रासायनिक विषादीको प्रयोग घटाउँदै अर्गानिक उत्पादनतर्फ कृषकलाई आकर्षित गर्न यो खेती प्रभावकारी बन्न सक्ने विश्वास गरिएको छ ।फर्मले वातावरण संरक्षणसँगै आयआर्जन वृद्धि गर्ने उद्देश्यले सिप्लीकान खेती विस्तार अभियान सञ्चालन गरिरहेको जनाएको छ। इच्छुक कृषक तथा व्यवसायीलाई प्राविधिक सहयोग, बिरुवा तथा आवश्यक परामर्श उपलब्ध गराइने समेत फर्मले जनाएको छ ।

ऊँ कृषि फर्मका अनुसार बाँदर आतङ्कका कारण परम्परागत खेती छाड्न बाध्य भएका कृषकका लागि सिप्लीकान खेती नयाँ आशाको आधार बन्न सक्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2